प्रतिपदाका दिन पूजाआराधना गरिने शक्तिस्वरूपा भगवतीको पहिलो स्वरूपको नाम शैलपुत्री हो । पर्वतराज हिमालयका पुत्रीका रूपमा उत्पन्न भएकीले यी भगवतीलाई शैलपुत्री भनिएको हो । साँढेमा बसेकी यी देवीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल सुशोभित छ । पूर्वजन्ममा यिनी प्रजापति दक्षकी छोरीको रूपमा जन्मेकी थिइन् । त्यसबेला यिनको नाम सती थियो । यिनको विवाह भगवान् शंकरजीसँग भएको थियो । एकचोटी प्रजापति दक्षले एक ठूलो यज्ञको आयोजना गरी सारा देवताहरूलाई यज्ञको भाग लिन निमन्त्रणा गरेका थिए तर भगवान् शंकरलाई चाहिँ बेलाएका थिएनन् । उनकी छोरी सतीले पनि उक्त कुरा थाहा पाइन् र उनले आˆनो पतिको अनुमति बेगर त्यस यज्ञमा भाग लिन पुगिन् । त्यहाँ उनले जताततैबाट भगवान् शंकरको उपेक्षा गरिएको पाइन् यहाँसम्म कि आˆनो पिताको मुखबाट समेत पतिको निन्दा गरेको पाइन् । त्यसपछि उनको मनले आˆनो पतिको निन्दा सुन्न नसकी त्यही यज्ञमा आफूलाई जलाएर भष्म गरिन् । अघिल्लो जन्ममा शैलराज हिमालयकी पुत्रीका रूपमा जन्म लिएकी शैलपुत्रीको विवाह पनि शंकरजीकै साथ भएको थियो । यस जन्ममा पनि उनी शिवजीको अर्धाङ्गनिी बनिन् ।
नवरात्रिको दोस्रो दिन पूजा गरिने देवीको नाम ब्रहृमचारिणी हो । यो माता दुर्गाको दोस्रो स्वरूप हो । ब्रहृम शब्दको अर्थ तपस्या हुन्छ । यसैले तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो । यी देवीको स्वरूप पूर्ण ज्योतिमय एवं अत्यन्त भव्य देखिन्छ । यी देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ । यी देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम वृद्धि हुँदै जान्छ र उसलाई सर्वत्र सिद्धि एवं विजय हात लाग्दछ । पूर्वजन्ममा जब यिनी हिमालयको घरमा छोरीको रूपमा जन्मेकी थिइन्, त्यसबेला नारदको उपदेशले यिनले भगवान् शंकरलाई पतिको रूपमा पाउनको लागि कठिन तपस्या गरेकी थिइन् । यस्तो कठिन तपस्याको कारण यिनलाई तपश्चारिणी अर्थात् ब्रहृमचारिणी नामले जानिन्छ । हजार वर्षसम्म यिनले पानी पनि नखाइकन तपस्या गरेकी थिइन् । उनको कठिन तपस्या देखेपछि पितामह ब्रहृमाले आकाशवाणीद्वारा 'भगवान् शिवजी तिमीलाई पतिको रूपमा प्राप्त हुनेछन्' भनेर उनको मनोकामना सबै पूर्ण हुने जानकारी दिएका थिए र पछि त्यस्तै भयो पनि ।
माता दुर्गाको तेस्रो शक्तिको नाम चन्द्रघण्टा हो । नवरात्रि पूजापर्वमा तेस्रो दिन यिनको स्वरूपको पूजाआजा गरिन्छ । सुवर्णमय चन्द्रघण्टा देवीको स्वरूप परम शान्तिदायक एवं कल्याणकारी छ । यिनको दस हातमा खड्ग आदि शस्त्र तथा वाण आदि अस्त्र विभूषित छन् । उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर जानिन्छ । यिनको शरीरको र स्वर्णको समान चम्किलो देखिन्छ । शास्त्रानुसार हातको घण्टाको आवाजले राक्षसहरू डराउने भएकाले यिनको नाम चन्द्रघण्टा राखिएको हो । यी दुर्गाको वाहन सिंह हो । यसैले यिनका उपासक पनि सिंहजस्तै पराक्रमी हुन्छन् । यिनको मुद्रा युद्धको लागि तत्पर भइरहेको जस्तो देन्छि यिनको ध्यान, आराधना र उपासना गर्नाले भूत, प्रेत, बाधा आदिबाट रक्षा गर्छ र भक्तको सारा पाप एवं बाधा नष्ट भएर जान्छ । रिसाहा स्वभाव भएकी यी देवीको पूजा गर्नाले घण्टाको ध्वनिको आवाज भक्तको कानमा परिहाल्छ । यी देवीको उपासना गर्दा परलोकका लागि कल्याण र सद्गति प्राप्त हुन्छ ।
चतुर्थीका दिन पूजा गरिने भगवतीको नाम कुष्माण्डा हो । सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा ब्रहृमाण्डको सृष्टि र प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो । आˆनो मन्द मुस्कानद्वारा ब्रहृमाण्डको उत्पन्न गरेकोले यिनलाई कुष्माण्डादेवी भनिएको हो । सृष्टिको अस्तित्व नभएको बेला चारैतिर जताततै अन्धकार व्याप्त थियो । यस्तो अवस्थामा यी देवी कुष्माण्डाले खिसिक्क हाँसेर ब्रहृमाण्डको सृष्टि गर्नुभयो । पृथ्वीको यही सृष्टिको आदिस्वरूप नै उनी हुन् । यी देवीको आठ हात भएका हुनाले यी देवीको अर्को नाम अष्टभुजा देवी पनि हो । यी देवीको सात हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र तथा गदा छन् भने अर्को हातमा भक्तजनलाई सिद्धि र निधि दिन सक्ने जपमाला रहेको छ । यी देवीलाई कुभिण्डोको बलि ज्यादै मनपर्ने हुनाले पनि यी देवीलाई कुष्माण्डा पनि भनिन्छ । यी देवीको तेजको तुलना यिनीसँग मात्रै गर्न सकिन्छ । अरू कुनै पनि देवता यी देवीको तेजको प्रभावलाई खप्न सक्दैनन् । यी देवीको भक्ति गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुन्छ ।
नवरात्रिको पञ्चमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती स्कन्दमाता हुन् । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उनलाई स्कन्दमाता भनिएको हो । यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ । कमल ओछ्याएर बस्ने आदत भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह हुन्छ । यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने हुन्छन् ।
नवरात्रिको षष्ठीका दिन पूजा गरिने देवीलाई कात्यायनी भनिन्छ । चार हात भएकी यी देवीको वाहन सिंह हो । यी देवीको कात्यायनी नाम रहन गएको कथा यस प्रकार देखिन्छ- कत नाम गरेका एक ऋषि थिए । उनका पुत्र ऋषि कात्य भए । कात्यको गोत्रमा विश्वप्रसिद्ध महषिर् कात्यायन पैदा भए । यिनले भगवती पराम्बाको उपासना गर्दै धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । भगवतीको जन्म मेरो घरमा छोरीको रूपमा होस् भन्ने उनको इच्छा थियो । माता भगवतीले उनको प्रार्थना स्वीकार गरिदिनुभयो । केही कालपछि जब महिषासुर दानवको अत्याचार पृथ्वीमा बढ्दै गयो, त्यसैबेला यस दैत्यको वधको लागि ब्रहृमा, विष्णु र शिव तीन देवताको शक्तिको तेजले एक देवीको जन्म भयो । यी देवीको पूजा गर्ने पहिलो ऋषि नै कात्यायन थिए । यसैकारण यी देवी कात्यायनी कहलाइन् ।
सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन् । उनको टाउकाको झाँक्रो फिजाएको जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह झल्कने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ । माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन् । यसैले यी देवीको एक नाम 'शङ्करी' पनि रहेको छ । देवी कालरात्रि दुर्जनहरूको उछित्व गर्ने हुनुहुन्छ । यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ ।
नवरात्रिको महाष्टमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती महागौरी हुन् । सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको देखिन्छ । यी माताको स्वरूप गोरो वर्णको छ । यीनको सबै कपडा र गरगहना पनि सेतै छन् । बालककालमा पार्वती हुँदादेखि नै शिव पति पाउन यिनले कठोर तपस्या गरेकी थिइन् । यिनको प्रतिज्ञा थियो कि महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै भएर बस्छु । यस कठोर तपस्याको कारण यिनको शरीर एकदम कालो हुन पुगेको थियो । यिनको तपस्याले खुसी भएका शिवजीले यिनको शरीरलाई गंगाजलमा गएर नुहाइदिएपछि उनी गोरी भइन् र उनको नामै गौरी रहन गएको हो र यी देवीको शक्ति अमोघ छ र प्रत्यक्ष फल दिने हुन्छ । यी भगवतीको भक्ति आराधना गर्नाले भक्तजनहरूको सबै दोष नाश हुन्छ र पछिसम्म पनि बाधा आउन छोड्छ ।
नवरात्रको अन्तिम अर्थात् महानवमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीको नाम सिद्धिदात्री हो । यी देवी कमलको फूलमा बस्छिन् । यी देवीको दाहिनेतर्फका तल्लो हातमा चक्र, अर्को हातमा गदा तथा बायाँतर्फको तल्लो हातमा शंख तथा अर्को हातमा कमलको फूल सुशोभित छ । यस संसारमा यी देवीको लागि सिद्धि गर्न नसकिने कामकुरो केही पनि छैन । ब्रहृमाण्डमा पूरा विजय प्राप्त गर्न सक्ने शक्ति यी देवीमा रहेको छ । यिनी भक्तजनहरूलाई जुनसुकै सिद्धि पनि दिन सक्ने साथै इच्छाअनुसारको फल प्राप्त गराइदिने भएकी हुनाले उनको नाम सिद्धिदात्री रहन गएको हो । देवी पुराणअनुसार पार्वतीबाट आएको सिद्धि नै भगवान् शिवजीबाट आएको सिद्धि हो । यिनकै कृपाले गर्दा भगवान् शिव अर्धनारीश्वर हुनुभएको हो । यसैले यस संसारमा भगवान् शिव अर्धनारीश्वर नामले प्रसिद्ध छन् ।


0 comments:
Post a Comment
Drop your Messages and Comments Here!! Comments are welcomed in both Nepali as well as English languages. Please don't spam! Spam messages would be immediately deleted by me. If you have any query I will try to give feedback as soon as possible. Thanks for Visiting My Blog.