अहिले प्रधानमन्त्री भएका नेपाल ती नेपाल होइनन् जसले राजदरबारभित्र राज-संहारको काण्डपछि श्रीपेच लगाउन पुगेका ज्ञानेन्द्रको जुनाफमा दाम राखेर शुभकामना टक्र्याएका थिए। यी ती नेपाल होइनन् जसले प्रधानमन्त्री पदका लागि ज्ञानेन्द्रको आह्वानमा दरखास्त हालेका थिए। यी ती नेपाल होइनन् जसले आधा प्रतिगमन सच्चियो भनेर तिनै राजाका पालामा आफ्नो पार्टीलाई सरकारमा सामेल गराएका थिए। यी ती नेपाल होइनन् जो गएको साल भएको संविधानसभाको चुनावमा दुई-दुई ठाउँबाट हारेका थिए। ती सबै गर्ने त एमाले पार्टीका महासचिव रहेका नेपाल हुन्। उनलाई यी सबै काम त्यही महासचिव पदले गराएको हो। उनी चुनाव पनि आफू हारेका होइनन्। त्यो झ्क्कुप्रसाद भन्ने कहाँ रोल्पाको मानिस आएर हराएको हो। काठमान्डूको काँठबाट त उनलाई झ्क्कुले हराए। आफ्नै जिल्ला रौतहटमा पनि पहिलेको आफ्नै चेलाले पो हरायो। आफैं त कहाँ हारेका हुन् र!
चुनावको हारबाट रन्थनिएर उनले महासचिवको पदबाट राजिनामा दिए, जुन स्वीकृत पनि भयो। फेरि उनी महासचिवको पदमा उठेनन् पनि। राजा भएका ज्ञानेन्द्रको जुनाफमा दाम राख्ने, प्रधानमन्त्रीको विज्ञापित पदका लागि दरखास्त हाल्ने, राजाको प्रतिगमन आधा सच्याउने, संविधानसभाको चुनावमा तीन बल्ड्याङ खाने सबै त्यही महासचिव पद थियो। राजिनामा दिएपछि किस्सै खत्तम। त्यो पद 'गट्ने नेपाल पुरानो नेपाल थिए। पद त्याग गरेका नेपाल नयाँ नेपाल भए। पद बिनाको नयाँ नेपाल त वरिष्ठ नेता भए। आफ्नै पार्टीका अध्यक्षभन्दा पनि माथिल्लो आसनमा विराजमान। पार्टीका दुवै फ्याकका सर्वमान्य। उहिले संविधान बनाउने समितिमा बसेर यसअघिको संविधान लेख्नमा योगदान गरेका संविधानविद्।
त्यसैले एकजना शिक्षक प्रतिनिधिलाई शहीद बनाएर तिनको ठाउँमा आए नेपाल सभासद् बनेर अनि भए संविधान लेख्ने समितिको मुखिया। कति आशावादी शुभेच्छुकहरूले सोचे नेपालको भीमराव अम्बेडकर बनेर आए नेपाल। तर त्यो पगरी उनका टाउकामा असमयमै लगाइदिएको ठूलो पगरी ठहरियो। के को अम्बेडकर, उनले त चौधरी चरणसिंहको चरणचिन्ह पो अनुसरण गरेजस्तो छ। किसान नेता भनेर चिनिने चौधरी चरणसिंहलाई पनि भारतको प्रधानमन्त्री बन्ने उत्कट अभिलाषा थियो। अनेक सुरतले उनी प्रधानमन्त्री बन्न सफल भए पनि। तर ६ महिना पनि टिकेन उनको सरकार र सबभन्दा छोटो कार्यकालको रेकर्ड उनले कायम गरे। हो, विशाल भारतको प्रधानमन्त्रीको सूचीमा उनको नाम भने अवश्य रह्यो।
नेपालको प्रधानमन्त्रीत्व कति समय टिक्छ त्यो यिनलाई प्रधानमन्त्री बनाउने शकुनि मामाहरूको कुटिल पासामा भर पर्ने कुरा हो। व्यवस्था लोकतान्त्रिक भए पनि उनले तान्त्रिक सुझ्ाव मान्दै सोमबार अर्थात् शिवजीको आराधना गर्ने बार पारेर पदको शपथ खाएका छन्। आफ्नो प्रधानमन्त्रीत्व दीर्घायु होस् भनेरै त्यसो गरेका होलान्। अब उनका दायाँबायाँ हातका औंलाहरूमा रङ्गीविरङ्गी औंठीहरू देखिन थाले भने पनि आश्चर्य नहोला!
सिसडोलवासीलाई सल्लाह
तपाईंहरूले काठमाडौंको फोहोर फेरि आफ्नो गाउँमा फाल्न दिएर बेठीक गर्नुभयो। काठमाडौंकाले मोजमज्जा गर्ने अनि उनीहरूले निकालेका फोहोरमैलाको डङ्गुर बोक्नुपर्ने चाहिँ तपाइँहरूको गाउँले! त्यसको दुर्गन्ध तपाईंहरूले सहनुपर्ने! त्यसबाट उत्पन्न हुने रोगव्याधी भोग्नुपर्ने तपाईंहरूले! काग, गिद्ध, स्यालको बिगबिगी खप्न पर्ने तपाईंहरूले! फोहोरलाई मोहोर बनाउ भन्ने अनि तपाईंका गाउँमा लगेर मिल्काउने! बनाउन न आफैं मोहोर, काठमाडौंवासीले।
यो सरासर अन्याय हो। यी सदरियाहरूलाई ठेगान लगाउनै पर्ने हो, तर यसरी होइन। तपाईंहरूले अस्पताल, स्कूल बनाइदिनुपर्ने र बेरोजगार युवाहरूलाई रोजगार दिनुपर्ने माग राख्नुभएको रहेछ। पहिले धिङ्न्याइँ गर्छन् पछि सजिलै मान्छन् तपाईंका माग यी सदरियाहरूले। अरूको पोल्टामा फोहोर हालेर आफू सफा बस्न यिनीहरू जे पनि गर्न तयार हुन्छन्।
लौ अस्पताल बनाइदिए रे! एउटा साधारण अस्पतालले काम चल्छ? मुटुको, मिर्गौलाको, हाडजोर्नीको, सुत्केरीको विशेष अस्पताल त त्यो हुँदैन। फेरि अल्ट्रासाउन्ड, इसीजी, इन्डोस्कोपी, सिटी स्क्यान अनेक गर्नुपर्छ ती सुविधा त त्यहाँ हुँदैनन्। अनि शहरमा पैसा कमाउन पल्केका डाक्टर त्यहाँ काम गर्न गइदिएनन् भने के मतलब भयो अस्पताल खोलेको?
स्कूल खोलेर पनि पुग्दैन। शहरकाले चाहिँ आफ्ना छोराछोरी महङ्गा बोर्डिङ स्कूलमा पढाउने अनि गाउँकाले चाहिँ सरकारी स्कूलमा? लौ त्यहाँका युवालाई काठमाडौंमा रोजगारी पनि मिल्यो रे! हरेक दिन त्यति टाढाबाट 'होरदोहोर गर्न पर्यो। कमाएको तलब भाडामै खर्च हुन्छ। फेरि बस, माइक्रो बसको ताल यही हो, चल्ने ठेगान हुँदैन। हिँडेर आउनजान साध्ये भएन।
त्यसैले व्यावहारिक के हुन्छ भने सारा गाउँवासीलाई काठमाडौं शहरमै जागिरका साथै पुनर्वास गरिमाग्नु होस्। बस्ने घर दिनु पर्यो। नत्र माग्ने नि, हरेक परिवारलाई एक-एक फ्ल्याट। यतै बस्यो, यतै काम गर्यो, गाउँ नै छाडिदिने। टन्टै साफ। किन अस्पताल र स्कूल बनाउनुपर्ने माग लिएर सधैँ लडिरहने?
स्याटेलाइटबाट बिजुली
माधव नेपाल प्रधानमन्त्री के भए विचित्र भइरहेछ। लोडशेडिङ एकाएक हटेर बिजुली बलेको बल्यै गर्न लागेको छ। अँध्यारोमा बस्ने बानी परिसकेका नेपालीहरू हैरान छन्, बत्ती ननिभेकोमा। अहिले जाला जाँदैन, भरे जाला जाँदैन। उदेकमा परेका छन् नेपालीहरू। के हो यो चमत्कार? माधवजी उहिले मन्त्री हुँदा स्याटेलाइटबाट बिजुली वितरण गरिनेछ भनेर कुर्लेका थिए। प्रधानमन्त्री हुनेबित्तिकै उनले स्याटेलाइटबाटै बिजुली दिने बन्दोबस्त मिलाएकाले त यसो भएको होइन!
ऋतुविचार (From - Himal Khabar Patrika)
No comments:
Post a Comment
Hey Guys! Thanks for visiting my blog. Hope you enjoy reading. Just leave your comments if you think this post is a worth readable! Your valuable comments are always welcomed. Please don't spam! and No abusive language would be tolerated. I would moderate your feedback and then it would be published. If you have any query I will try to give feedback as soon as possible.