Wednesday, September 30, 2009

देवीका भिन्नाभिन्नै स्वरूप

नवरात्रिमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरिन्छ । यी देवीहरू हुन्ः शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री । यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ । नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ । यसैले भक्तहरू आˆनो मनको इच्छा पूरा हुने उत्कट अभिलाषाले यस नवरात्रि पर्वमा नवदुर्गा देवीलाई राँगा, बोका, भेडा, हाँस, कुभिण्डो अथवा पञ्चबलि चढाइ आ-आˆना भाकल पूरा गर्ने पनि गर्दछन् । नवरात्रिमा पुजिने नवदुर्गाको स्वरूपहरू यस प्रकार छन् ः-

प्रतिपदाका दिन पूजाआराधना गरिने शक्तिस्वरूपा भगवतीको पहिलो स्वरूपको नाम शैलपुत्री हो । पर्वतराज हिमालयका पुत्रीका रूपमा उत्पन्न भएकीले यी भगवतीलाई शैलपुत्री भनिएको हो । साँढेमा बसेकी यी देवीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल सुशोभित छ । पूर्वजन्ममा यिनी प्रजापति दक्षकी छोरीको रूपमा जन्मेकी थिइन् । त्यसबेला यिनको नाम सती थियो । यिनको विवाह भगवान् शंकरजीसँग भएको थियो । एकचोटी प्रजापति दक्षले एक ठूलो यज्ञको आयोजना गरी सारा देवताहरूलाई यज्ञको भाग लिन निमन्त्रणा गरेका थिए तर भगवान् शंकरलाई चाहिँ बेलाएका थिएनन् । उनकी छोरी सतीले पनि उक्त कुरा थाहा पाइन् र उनले आˆनो पतिको अनुमति बेगर त्यस यज्ञमा भाग लिन पुगिन् । त्यहाँ उनले जताततैबाट भगवान् शंकरको उपेक्षा गरिएको पाइन् यहाँसम्म कि आˆनो पिताको मुखबाट समेत पतिको निन्दा गरेको पाइन् । त्यसपछि उनको मनले आˆनो पतिको निन्दा सुन्न नसकी त्यही यज्ञमा आफूलाई जलाएर भष्म गरिन् । अघिल्लो जन्ममा शैलराज हिमालयकी पुत्रीका रूपमा जन्म लिएकी शैलपुत्रीको विवाह पनि शंकरजीकै साथ भएको थियो । यस जन्ममा पनि उनी शिवजीको अर्धाङ्गनिी बनिन् ।

नवरात्रिको दोस्रो दिन पूजा गरिने देवीको नाम ब्रहृमचारिणी हो । यो माता दुर्गाको दोस्रो स्वरूप हो । ब्रहृम शब्दको अर्थ तपस्या हुन्छ । यसैले तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो । यी देवीको स्वरूप पूर्ण ज्योतिमय एवं अत्यन्त भव्य देखिन्छ । यी देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ । यी देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम वृद्धि हुँदै जान्छ र उसलाई सर्वत्र सिद्धि एवं विजय हात लाग्दछ । पूर्वजन्ममा जब यिनी हिमालयको घरमा छोरीको रूपमा जन्मेकी थिइन्, त्यसबेला नारदको उपदेशले यिनले भगवान् शंकरलाई पतिको रूपमा पाउनको लागि कठिन तपस्या गरेकी थिइन् । यस्तो कठिन तपस्याको कारण यिनलाई तपश्चारिणी अर्थात् ब्रहृमचारिणी नामले जानिन्छ । हजार वर्षसम्म यिनले पानी पनि नखाइकन तपस्या गरेकी थिइन् । उनको कठिन तपस्या देखेपछि पितामह ब्रहृमाले आकाशवाणीद्वारा 'भगवान् शिवजी तिमीलाई पतिको रूपमा प्राप्त हुनेछन्' भनेर उनको मनोकामना सबै पूर्ण हुने जानकारी दिएका थिए र पछि त्यस्तै भयो पनि ।

माता दुर्गाको तेस्रो शक्तिको नाम चन्द्रघण्टा हो । नवरात्रि पूजापर्वमा तेस्रो दिन यिनको स्वरूपको पूजाआजा गरिन्छ । सुवर्णमय चन्द्रघण्टा देवीको स्वरूप परम शान्तिदायक एवं कल्याणकारी छ । यिनको दस हातमा खड्ग आदि शस्त्र तथा वाण आदि अस्त्र विभूषित छन् । उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर जानिन्छ । यिनको शरीरको र स्वर्णको समान चम्किलो देखिन्छ । शास्त्रानुसार हातको घण्टाको आवाजले राक्षसहरू डराउने भएकाले यिनको नाम चन्द्रघण्टा राखिएको हो । यी दुर्गाको वाहन सिंह हो । यसैले यिनका उपासक पनि सिंहजस्तै पराक्रमी हुन्छन् । यिनको मुद्रा युद्धको लागि तत्पर भइरहेको जस्तो देन्छि यिनको ध्यान, आराधना र उपासना गर्नाले भूत, प्रेत, बाधा आदिबाट रक्षा गर्छ र भक्तको सारा पाप एवं बाधा नष्ट भएर जान्छ । रिसाहा स्वभाव भएकी यी देवीको पूजा गर्नाले घण्टाको ध्वनिको आवाज भक्तको कानमा परिहाल्छ । यी देवीको उपासना गर्दा परलोकका लागि कल्याण र सद्गति प्राप्त हुन्छ ।

चतुर्थीका दिन पूजा गरिने भगवतीको नाम कुष्माण्डा हो । सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा ब्रहृमाण्डको सृष्टि र प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो । आˆनो मन्द मुस्कानद्वारा ब्रहृमाण्डको उत्पन्न गरेकोले यिनलाई कुष्माण्डादेवी भनिएको हो । सृष्टिको अस्तित्व नभएको बेला चारैतिर जताततै अन्धकार व्याप्त थियो । यस्तो अवस्थामा यी देवी कुष्माण्डाले खिसिक्क हाँसेर ब्रहृमाण्डको सृष्टि गर्नुभयो । पृथ्वीको यही सृष्टिको आदिस्वरूप नै उनी हुन् । यी देवीको आठ हात भएका हुनाले यी देवीको अर्को नाम अष्टभुजा देवी पनि हो । यी देवीको सात हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र तथा गदा छन् भने अर्को हातमा भक्तजनलाई सिद्धि र निधि दिन सक्ने जपमाला रहेको छ । यी देवीलाई कुभिण्डोको बलि ज्यादै मनपर्ने हुनाले पनि यी देवीलाई कुष्माण्डा पनि भनिन्छ । यी देवीको तेजको तुलना यिनीसँग मात्रै गर्न सकिन्छ । अरू कुनै पनि देवता यी देवीको तेजको प्रभावलाई खप्न सक्दैनन् । यी देवीको भक्ति गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुन्छ ।

नवरात्रिको पञ्चमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती स्कन्दमाता हुन् । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उनलाई स्कन्दमाता भनिएको हो । यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ । कमल ओछ्याएर बस्ने आदत भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह हुन्छ । यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने हुन्छन् ।

नवरात्रिको षष्ठीका दिन पूजा गरिने देवीलाई कात्यायनी भनिन्छ । चार हात भएकी यी देवीको वाहन सिंह हो । यी देवीको कात्यायनी नाम रहन गएको कथा यस प्रकार देखिन्छ- कत नाम गरेका एक ऋषि थिए । उनका पुत्र ऋषि कात्य भए । कात्यको गोत्रमा विश्वप्रसिद्ध महषिर् कात्यायन पैदा भए । यिनले भगवती पराम्बाको उपासना गर्दै धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । भगवतीको जन्म मेरो घरमा छोरीको रूपमा होस् भन्ने उनको इच्छा थियो । माता भगवतीले उनको प्रार्थना स्वीकार गरिदिनुभयो । केही कालपछि जब महिषासुर दानवको अत्याचार पृथ्वीमा बढ्दै गयो, त्यसैबेला यस दैत्यको वधको लागि ब्रहृमा, विष्णु र शिव तीन देवताको शक्तिको तेजले एक देवीको जन्म भयो । यी देवीको पूजा गर्ने पहिलो ऋषि नै कात्यायन थिए । यसैकारण यी देवी कात्यायनी कहलाइन् ।

सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन् । उनको टाउकाको झाँक्रो फिजाएको जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह झल्कने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ । माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन् । यसैले यी देवीको एक नाम 'शङ्करी' पनि रहेको छ । देवी कालरात्रि दुर्जनहरूको उछित्व गर्ने हुनुहुन्छ । यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ ।

नवरात्रिको महाष्टमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती महागौरी हुन् । सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको देखिन्छ । यी माताको स्वरूप गोरो वर्णको छ । यीनको सबै कपडा र गरगहना पनि सेतै छन् । बालककालमा पार्वती हुँदादेखि नै शिव पति पाउन यिनले कठोर तपस्या गरेकी थिइन् । यिनको प्रतिज्ञा थियो कि महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै भएर बस्छु । यस कठोर तपस्याको कारण यिनको शरीर एकदम कालो हुन पुगेको थियो । यिनको तपस्याले खुसी भएका शिवजीले यिनको शरीरलाई गंगाजलमा गएर नुहाइदिएपछि उनी गोरी भइन् र उनको नामै गौरी रहन गएको हो र यी देवीको शक्ति अमोघ छ र प्रत्यक्ष फल दिने हुन्छ । यी भगवतीको भक्ति आराधना गर्नाले भक्तजनहरूको सबै दोष नाश हुन्छ र पछिसम्म पनि बाधा आउन छोड्छ ।

नवरात्रको अन्तिम अर्थात् महानवमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीको नाम सिद्धिदात्री हो । यी देवी कमलको फूलमा बस्छिन् । यी देवीको दाहिनेतर्फका तल्लो हातमा चक्र, अर्को हातमा गदा तथा बायाँतर्फको तल्लो हातमा शंख तथा अर्को हातमा कमलको फूल सुशोभित छ । यस संसारमा यी देवीको लागि सिद्धि गर्न नसकिने कामकुरो केही पनि छैन । ब्रहृमाण्डमा पूरा विजय प्राप्त गर्न सक्ने शक्ति यी देवीमा रहेको छ । यिनी भक्तजनहरूलाई जुनसुकै सिद्धि पनि दिन सक्ने साथै इच्छाअनुसारको फल प्राप्त गराइदिने भएकी हुनाले उनको नाम सिद्धिदात्री रहन गएको हो । देवी पुराणअनुसार पार्वतीबाट आएको सिद्धि नै भगवान् शिवजीबाट आएको सिद्धि हो । यिनकै कृपाले गर्दा भगवान् शिव अर्धनारीश्वर हुनुभएको हो । यसैले यस संसारमा भगवान् शिव अर्धनारीश्वर नामले प्रसिद्ध छन् ।

Add To Google BookmarksStumble ThisFav This With TechnoratiAdd To Del.icio.usDigg ThisAdd To RedditTwit ThisAdd To FacebookAdd To Yahoo

No comments:

Post a Comment

Hey Guys! Thanks for visiting my blog. Hope you enjoy reading. Just leave your comments if you think this post is a worth readable! Your valuable comments are always welcomed. Please don't spam! and No abusive language would be tolerated. I would moderate your feedback and then it would be published. If you have any query I will try to give feedback as soon as possible.