विशाल जनसभा भएको थियो २०४६ को जनआन्दोलनपछि काठमाडौंको खुलामञ्चमा। जनसागर उर्लेको थियो त्यस ठाउँमा। विजयोत्सव भएको केही दिनमै त्यही ठाउँमा रातारात प्लास्टिकका छाना हालिएका टहराहरू उमि्रए, जसरी पानीझ्रीमा झ्रीच्याउ उम्रन्छन्। ती टहराहरू पसल थिए फूटपाथका खुद्रे व्यापारीहरूले थापेका। खुलामञ्च खुला थियो अनि उनीहरूलाई पसल थाप्न ठाउँ चाहिएको थियो। त्यसमाथि भर्खर प्रजातन्त्र आएको थियो। बस् के चाहियो। उनीहरूले त्यहीं खाँबा गाडे। सबैलाई झै उनीहरूलाई प्रजातन्त्रको तात्तातो फल चाहिएको थियो। त्यो फल उनीहरूले त्यहाँ बस्ती बसाएर तत्काल प्राप्त गरे।
कम्ती भुक्तमान भएन महानगर•पालिकालाई पछि ती टहराहरूलाई त्यहाँबाट अन्यत्र सार्न। भगीरथ प्रयत्नले तिनीहरूलाई सारियो भृकुटीमण्डपभित्र त्यसरी नै छाप्रा हाल्ने ठाउँ दिएर। त्यस सार्वजनिक ठाउँमा के सरे, त्यहाँ उनीहरूले लालपुर्जा नै पाएसरह नै भयो। अद्यापि ती छाप्राहरू त्यहीं छन्। एकताका ती अस्थायी मानिए पनि अब त ती स्थायी भइसके। भृकुटीमण्डपको मौलिक सुन्दरता बिग्रोस् कि फोहोर होस् कि आगलागीको जोखिम बढोस् कि कसलाई के मतलब? त्यो प्रजातन्त्रको फल थियो र चाख्नेले मजासित चाखिरहेछन्।
अब कुरा आउँछ अर्को महान घटनाबाट प्राप्त फलको। त्यो फल हो काठमाडौंलाई पाटनसित जोड्ने बागमती पुलको पूर्वपट्टि उमि्रएको सुकुम्बासी बस्ती। चुनाव भर्खर सकियो। तर चुनाव तयारी हुनुभन्दा पनि अघि चुनावको कुरा चल्दादेखि नै त्यस फलको बीउ त्यहाँ रोपियो, त्यो टुसायो, त्यो हुर्क्यो, त्यो झुङ्गियो सबैका आँखासामु। गठबन्धन सरकारको बन्धन जति खुकुलो भयो त्यति नै त्यहाँ एउटा दुइटा गर्दै बाँसका थामहरू कसिंदै गए। चुनाव जति पर सर्दै गयो उति नै त्यहाँ निवासी बढ्दै गए। अहिले त्यहाँ एउटा नयाँ संसार निर्माण भएको छ। के भनौं त्यस संसारलाई! त्यसलाई लोकतान्त्रिक संसार भन्नु पर्ला।
बागमतीले ठाउँ छाड्नाले बन्न गएको त्यस बगरमा यु एन पार्क बनाउने योजना बनेको थियो संयुक्त राष्ट्र खडा भएको पचास वर्ष पुगेको उपलक्ष्यमा। ठूलाबडा र धनीमानी व्यक्तिहरू लागेका थिए त्यो योजना बनाउनेमा। शिलान्यास पनि भएको थियो त्यस प्रस्तावित पार्कको, बडो धुमधामका साथ। काँढेतारले घेर्ने काम पनि भएको थियो पार्क बनाउने ठाउँलाई। तर यतिका वर्षमा पार्क सार्क केही बनेन, केवल सुकुम्बासीहरूका लागि खुला आमन्त्रण बनेर रह्यो त्यो ठाउँ। त्यस्तो आकर्षक निम्तालाई कसैले स्वीकार नगरोस् पनि किन? त्यसलाई यु एन पार्क नामकरण गर्नेको बुद्धिलाई मान्नु पर्छ। अहिले त्यहाँका बहुरङ्गी छाप्राहरू देख्दा साँच्चिकै एउटा स•सानो संयुक्त राष्ट्र नै त्यहाँ खडा भएको जस्तो लाग्छ। अनि महान लोकतन्त्रको प्रत्यक्ष र भौतिक फलका रूपमा राजधानीलाई त्यो नौलो बस्ती मिलेको छ।
यस्तरी प्रजातन्त्र र लोकतन्त्रको प्रत्यक्ष फल पाउनु राजधानीबासीका लागि ठूलो हर्षको विषय होइन र ?
अत: ब्लगमा ऋतुराज को ऋतुविचार राख्दैछु । यो ऋतुविचार हिमाल-खबर पत्रिका मा प्रकाशित भएको छ ।
No comments:
Post a Comment
Hey Guys! Thanks for visiting my blog. Hope you enjoy reading. Just leave your comments if you think this post is a worth readable! Your valuable comments are always welcomed. Please don't spam! and No abusive language would be tolerated. I would moderate your feedback and then it would be published. If you have any query I will try to give feedback as soon as possible.